काठमाडौं । पुष २० गते
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । माओवादी केन्द्रका नवर्निवाचित अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले अध्यक्षमा निर्वाचित भएपछि आफूले निकै ठूलो जिम्मेवारी बोकेको महसुस गरेको बताउनु भएको थियो ।

ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा सोमबार आयोजित केन्द्रीय समितिको पहिलो बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सम्बोधन गर्दै उहाँले राष्ट्र र जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताबताउनु भएको थियो । आफुले लामो समय पार्टीको नेतृत्वमा रहेर विभिन्न ऐतिहासिक घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त गरेको र इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको जिकिर गर्नु भएको छ ।
धेरै उतारचढावबाट गुज्रेर फेरि पनि सक्रिय नेतृत्वको भूमिकामा रहिरहँदा कहिलेकाहीँ फरक भूमिकामा पनि जानुपर्ने तर पार्टी र देशको अवस्थालाई हेर्दा अझै केही समय सक्रिय रहनुपर्छ भन्ने बाध्यता रहेको मलाई महसुस भइरहेको उहाँले उल्लेख गर्नु भएको थियो ।
उहाँले माओवादी आन्दोलनले इतिहासमा निक्कै ठूलो त्याग र बलिदानको आधारभूमि खडा गरेको उल्लेख गर्दै उनले आफू नहुँदैमा माओवादी आन्दोलन नसकिने र झन् सक्रिय भएर अगाडि आउने बताउनु भएको छ । माओवादीको महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिका बीचमा राजनीतिक तथा वैचारिक रूपमा बृहङ्गम रूपमा छलफल भएको बताउँदै उहाँले केही व्यक्तिको अराजनीतिक टिप्पणी जस्तो हल्का रूपबाट महाधिवशेन सकिएको भन्ने विषयमा भ्रम नपाल्न आग्रह गर्नु भएको थियो ।