काठमाडौं । माघ ६ गते
रुसले युक्रेनविरुद्ध पूर्ण युद्ध चाहेको आफूलाई नलागेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। बाइडेनले राष्ट्रपतिका रुपमा कार्यकाल सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनविरुद्ध हस्तक्षेप गर्न चाहे पनि पूर्ण युद्ध चाहेको भने आफूलाई नलागेको बताएका हुन्।

बाइडेनको भनाइपछि पत्रकारहरुले के त्यसो भए अमेरिकाले एउटा सानो आक्रमण स्वीकार्छ भन्ने जिज्ञासा राखेका थिए। यो जिज्ञासामा आफ्नो अडान स्पष्ट पार्न ह्वाइटहाउसलले पछि एउटा विज्ञप्ति जारी गरेको थियो। जसमा ह्वाइटहाउसकी प्रेस सेक्रेटरी जेन साकीले रुसी सेना युक्रेनभित्र प्रवेश गरेमा अमेरिका र उसका साझेदारबाट तत्काल, कडा र एकीकृत जवाफ दिइने बताएकी थिइन्। बाइडेनले युक्रेनमाथि आक्रमण भएमा रुसमाथि अहिलेसम्मै नदेखिएको प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।