काठमाडौं । फागुन २८ गते
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आफ्नो देशमाथिको आक्रमणमा आतंककारी रणनीति अपनाएको बताएका छन्।रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। रुसी आक्रमण आतंककारी रणनीतिमा आधारित रहेको जेलेन्स्कीले आरोप लगाएका हुन्।जेलेन्स्कीले आफ्नो आधिकारिक फेसबुक पेजमा किएभको स्थानीय समयअनुसार शुक्रबार मध्यराति पोस्ट गरेको भिडियो सम्बोधनमा ‘युक्रेनमा रुसले गरिरहेको आक्रमक गतिविधि आतंकवादी समूह इस्लामिक स्टेट (आईएस)को जस्तै रहेको र सोही रुपमा लिइने’ बताएका छन्।

रुसी आक्रमणकारीले युक्रेनको मेलितोपोल सहरका मेयरलाई बन्धक बनाएपछिको सम्बोधनमा रुसमाथि आतंककारी गतिविधिको आरोप लगाएका हुन्।मेलितोपोलबाट सात हजार १४४ जनालाई सुरक्षित स्थानमा लगिएको उनले उल्लेख गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले फेरि पनि युक्रेनी नागरिकसँग रुसी आक्रमणकारीविरुद्ध डटेर लड्न आग्रह गरेका छन्।