काठमाडौं । बैशाख ६ गते
विभागीय टोली नेपाल एपीएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।अब सेमिफाईनलमा एपीएफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफको सानदार जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित पाँच गोल गरिन् । त्यस्तै अनिता बस्नेत, सविता राना मगर र सरु लिम्बुले एक एक गोल गरिन् ।

खेलको ३६ औं मिनेटमा पहिलो गरेकी सावित्राले खेलको ५१ औं मिनेटमा दोस्रो ७४ औं मिनेटमा तेस्रो ७९ औं मिनेटमा चौथो र ९० औं मिनेटमा पाँचौ गोल गरिन् । अनिताले खेलको ६२ औं मिनेटमा सरुले ७५ औ मिनेटमा र सविताले ८९ औं मिनेटमा गोल गरिन् । खेलमा पाँच गोल गरेकी एपिएफकी सावित्रा भण्डारी ओम्यान अफ द म्याच भईन् । वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत आज आयोजक वनदेवी युवा क्लब र कालिका स्पोर्टस एकेडेमी चितवन प्रतिस्पर्धा गर्नेछन् । यो अन्तिम क्वाटरफाईल खेल हो । यो खेलको विजेताले सेमिफाईनलमा विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।