×

Vajra NTV

प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान सुरु गर्ने –मुख्यमन्त्री रावल


काठमाडौं माघ १७ गते । प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले जानकारी दिएका छन् । सोमबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले सुदूरपश्चिम प्रदेशको समृद्धिका सो अभियान गाउँगाउँमा सञ्चालन हुने बताएका छन् ।

“अहिले प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन, विश्वासको मत लिएपछि हामी यो अभियानमा लाग्छौं ।” उनले भने, “सुदूरपश्चिम प्रदेशमा रहेका थुप्रै खानीहरूको उत्खनन गर्न जरुरी छ ।” उनले यहाँ रहेका प्राकृतिक एंव सांस्कृतिक सम्पदा संरक्षण, प्रवर्दनमा प्रदेश सरकारले यसमा विशेष ध्यान दिने बताएका छन् ।

“विसं २०६२÷६३ को आन्दोलनका बेला म आफै पनि यो अस्पताल व्यवस्थापन समितिको अध्यक्ष थिएँ, यहाँका सबै समस्या मैले बुझेको छु”, मुख्यमन्त्री रावलले भन्नुभयो, “अस्पतालमा ‘डायलायसिस’ र ‘सिटीस्क्यान’ सेवाका लागि संघीय सरकारसँग पहल गर्छु ।”

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा जनशक्ति अभावकै कारण सेवा प्रभावित हुने गरेको जनाउँदै आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । “हामीसँग पर्याप्त जनशक्ति छैन, भएको जनशक्तिलाई पनि तलब खुवाउन सकिने अवस्था छैन”, उनले भने, “यहाँ चिकित्सक अभावकै कारण बिरामीलाई अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था छ, यसको अन्त्य गर्नका लागि आग्रह गर्छु ।”


More

View All

News

Health

Sports