काठमाडौं, फगुन १७ गते । भाबी राष्ट्रपति पदका लागि नेकपा (एमालें) का सुवासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबिच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपालका तेस्रो राष्ट्रपतिका लागि राजनीति एवं संसदीय अभ्यासमा बौद्धिक र परिपक्व छवि बनाएका प्रजातन्त्रवादी र वामपन्थी फरक विचारधाराका अनुभवी दुई नेताको उम्मेदवारी परेको हो । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङको मात्र उम्मेदवारी परेको छ ।फरक राजनीतिक पृष्ठभूमि र सिद्धान्त अँगाले पनि दुवैसँग संसद्को नेतृत्व गरेको अनुभव छ ।

वरिष्ठ नेता पौडेल गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ–१ बाट फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गरेका थिए । उनी यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ–२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यसबीचमा उनी उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसकेका छन् । उनले सभामुखको जिम्मेवारी निभाएका थिए ।
विसं २००१ असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । कांग्रेसद्वारा सञ्चालित २०१८ को क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए । विसं २०२७ मा नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य रहेका डेल २०३४ सालमा पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य र त्यसपछि पार्टीका उपसभापति तथा कार्यवाहक सभापति भएका थिए ।
उनी विभिन्न पुरस्कारसहित जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ (२०२० सन्) बाट सम्मान हुनुभएको थियो । उहाँका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांगे्रस रूपान्तरणको मार्गलगायत दर्जन पुस्तक र विभिन्न विषयमा समसामयिक लेख प्रकाशित छन् ।
त्यस्तै इलाम नगरपालिका–७ सुन्तलाबारीमा विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । विसं २०२८ बाट राजनीतिमा निरन्तर क्रियाशील नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै हाल उपाध्यक्ष छन् । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य बन्नुभएका उनी त्यसलगत्तै पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम–२ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम–२ बाट निर्वाचित भएका थिए ।
प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा इलाम–२ बाट लगातार निर्वाचित हुनुभएका नेम्वाङ एमाले संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति हुनुभएको थियो ।
उनी विसं २०६३ मा पुनःस्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष र सभामुख र २०७२ सालमा रुपान्तरित व्यवस्थापिकाको सभामुख भएका थिए । विसं २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भएका थिए ।