काठमाडौं, फागुन १८ गते । प्रदेश १ को नामकरण नेतृत्व गरेकोमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रदेश १ का प्रथम मुख्यमन्त्री शेरधन राईले बधाई दिएका छन् ।समाजिक सञ्जाल मार्फत उनले आफ्नो क्याबिनेटको दोस्रो वरियताका मन्त्री कार्कीले मुख्यमन्त्री भएपछि नाम राख्न सफलता पाएको भन्दै राईले बधाई दिएका हुन् ।

शेरधन राईले सामाजिक सञ्जालमा लेखेका छन्, प्रदेश संरचनाको (सरकारको) प्रथम मुख्यमन्त्रीको रुपमा आफु बहाल रहँदा प्रदेशले नाम नपाएको कारण मैले सबभन्दा बढी दोषको भारी मेरो टाउकोमा परेको थियो र मैले अलिकति पनि नहच्किचाई आफुलाई अपसोच रहेको कुरा खुल्ला रुपमा गर्दै आफ्नो टाउकोमा पर्ने दोष बोक्न अप्ठ्यारो नरहेको कुरा भन्दै आएको थिए र साँचो गुह्य कुरा के थियो भन्ने कुरा पनि राख्दै आएको थिए ।
हामीले जुन बेला प्रदेशको राजधानी सर्बसम्मत रुपमा सबै दलहरु बसेर टुंग्याउने निर्णय माइन्युटली प्रदेश सभा बाहिर गर्दै गर्दा नामाकंन पनि टुंग्याऊ भन्ने हाम्रो प्रस्ताव थियो तर सबै दलहरु नामांकनको बिषय अलि संबेदनशील र जटिल भएको र आ–आफ्नो दलभित्र केही समय छलफल र परामर्श आवश्यक रहेको कुरा औपचारिक बैठकमै ब्यक्त भएपश्चात सर्बसम्मत रुपमा स्थगन गर्ने निर्णय भएको थियो ।
सर्बप्रथम मुख्यमन्त्री माननीय हिक्मत कार्की जो पहिलो प्रदेश सभाको सक्रिय माननीय सदस्य, मेरो नेतृत्वको प्रदेश सरकारको दोश्रो बरियाताका बरिष्ठ मन्त्री जस्ले नामांकनको बिषयलाई प्राथमिक कार्यसुचीमा राखेर सहजीकरण गर्नुभयो र आज प्रदेशले नाम पाएको छ, म माननीय मुख्यमन्त्री हिक्मत कार्कीलाई धेरै धेरै बधाई सहित धन्यबाद भन्न चाहन्छु ।