काठमाडौं, फागुन २० गते । राष्ट्रपतिको उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट राष्ट्रपतिको उम्मेदवार बनेका नेम्वाङले जनताको राष्ट्रपति बन्न चाहेको भन्दै राष्ट्रपतिमा आफुलाई मत दिन आग्रह गरिरहेको छन् । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुनुभन्दा अघि विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट गर्दै राष्ट्रपतिका उम्मेदवार नेम्वाङले यस्तो बताएका हुन् ।

नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । नेम्वाङले आफू निर्वाचित भएमा सडकमा निस्कँदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा आकाश अवरुद्ध नहुने विश्वास दिलाए । अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने प्रयास गर्ने उनको भनाइ छ ।
बिहीबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेतासँग छुट्टाछुटै भेटघाट गर्दै नेम्वाङसहितका नेताले सहयोग गर्न अपिल गरेका छन् ।त्यस्तै शुक्रबार उनले जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का शीर्ष नेतासँग भेटघाट गरेका छन् ।