काठमाडौं, चैत २६ गते । मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । उनले सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्न सक्नु पर्नेमा जोड समेत दिए।

राजनीतिभन्दा साहित्यको फाँट विराट हुने उनले उल्लेख गरेका थिए। समाजलाई बुझ्न मानवीय र भावनात्मक हुन जरुरी छू महामन्त्री शर्माले भने, राजनीतिज्ञले समाजको भावना र मानवीय पक्षलाई बुझेको हुनुपर्छ।नेपाली लेखक संघ झापाले अर्जुनधाराको शनिश्चरेमा शनिबार सम्पन्न गरेको साहित्य उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने स्पष्ट पारेका छन्।
गीत, संगीत, गायन, लेखन, कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्ममा समेत राम्रो दख्खल राख्ने शर्माले वैशाखी शीर्षकको कविता वाचन गरेर कार्यक्रमको माहोल आकर्षक बनाएका थिए। उनले पार्टीले लेखक संघ र लेखकका पक्षमा उल्लेख्य काम गर्न नसकेको स्वीकारे। महामन्त्री शर्माले आगामी दिनमा पार्टीले त्यसलाई आत्मसात गरेर अघि बढ्ने वचन समेत दिए।
लेखक संघलाई प्रभावकारी बनाउन आफूले विगतमा पनि काम गरेको र भविस्यमा पनि त्यसलाई निरन्तरता दिने आश्वासन दिए। उनले लेखकहरु समाज रुपान्तरण र परिवर्तनका सम्बाहक भएको उल्लेख समेत गरे । तीन सत्रमा सञ्चालन भएको कार्यक्रममा लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठ , महासचिव सोझो गाउँलेले संघका गतिविधि र भावी कार्यक्रमका बारेमा स्पष्ट पारेका थिए।