काठमाडौं । पुष २७ गते
नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्टलगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा गलत देखिएका विषयमा कानुनबमोजिम कारबाही हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताउनु भएको छ ।

उहाँले सो कुरा दरबार संग्रहालयभित्र रेस्टुरेन्टलगायतका विषयमा छानबिन गर्नका लागि गठन गरिएको छानबिन समितिले सोमबार बुझाएको प्रतिवेदन बुझ्दै समितिको प्रतिवेदनले कमीकमजोरी गर्ने जिम्मेवार व्यक्ति वा संस्थालाई कानुनबमोजिम कारबाही हुने बताउनुभएको हो ।
मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि तीन दिनअघि एक छानबिन समिति गठन गरिएको थियो ।