काठमाडौं,चैत २ गते । स्वतन्त्र विद्याथी युनियन(स्ववियु) निर्वाचनका लागि उम्मेदवारहरूले प्रचार(प्रसार गर्न पाउने समय अवधि बिहीबार मध्यरातिदेखि समाप्त हुँदैछ।त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका अनुसार उम्मेदवारहरूले आज चैत २ गते राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउनेछन्। त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन।

स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ। अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।
त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ। कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित छ भने केही क्याम्पसहरुमा निर्विरोध नेतृत्व चयन भइसकेका छन्।विद्यार्थी संगठनहरुले उपलब्ध गराएको विवरण अनुसार नेविसंघले १५, अनेरास्ववियुले ३१ र अखिल क्रान्तिकारीले २४ वटा क्याम्पसमा निर्विरोध नेतृत्व पाएका छन्।
स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ।निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनको प्रचार(प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ।
त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो। निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन्।
निर्वाचनका लागि त्रिविले माघ २२ गते नै स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको छ। स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।
स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ।
निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ। त्रिविमा स्ववियु निर्वाचन विसं २०१८र१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो। २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकामा विसं २०३६ देखि प्रत्येक दुई(दुई वर्षमा निर्वाचन हुँदै आएको थियो।
त्रिविमा विसं २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन भएको थियो। विसं २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो।प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन। प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन।२०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो।