×

Vajra NTV

शिलान्यास अगाडि नै विवादमा महिला औद्योगिक ग्राम, शिलान्यास गर्लान् त प्रधानमन्त्री ?


काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा महिला औद्योगिक ग्राम बनाउने सरकारी तयारी शिलन्यासअघि नै विवादमा परेको छ । आज पाँचखालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत र उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालसमेतको उपस्थितिमा शिलन्यासको तयारी भइरहेको छ ।

करिब एक सय रोपनी जग्गामा झण्डै एक अर्ब रुपैयाँको लगानीमा महिला औद्योगिक ग्राम बन्न लागेको हो । महिला उद्यमीहरू नजोडिएको संस्था दक्षिण एशियाली महिला विकास मञ्चलाई राजनीतिक सम्बन्ध र पहुँचका आधारमा उक्त औद्योगिक ग्राम सञ्चालनको जिम्मा दिन लागिएको भन्दै विवाद देखिएको हो । २०८० जेठ २४ मा मन्त्रिपरिषदले महिला औद्योगिक ग्राम बनाउन पाँचखालमा निर्माणाधीन पार्कलाई ‘महिला औद्योगिक ग्राम’ बनाउने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णय अनुसार काभ्रे नगरपालिकाले मञ्चलाई करिब एक सय रोपनी जग्गामा झन्डै एक अर्ब रूपैयाँको लगानीमा २५ वर्षका लागि भाडामा दिँदैछ। प्रथम हरित महिला औद्योगिक ग्राम स्थापना र विकासका सम्बन्धमा पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्घबीच २०७६ भदौ २० मा सम्झौता भएको थियो।

तर अहिले एकपक्षीय रूपमा महासंघलाई बाइपास गरिएको हो। मञ्च क्षेत्रीय सङ्गठन हो। मञ्चको अध्यक्ष प्रमीला आचार्य रिजाल महासङ्घको पूर्व अध्यक्ष हुन्। वरिष्ठ उपाध्यक्षमा पूर्व राज्यमन्त्री याङकिला शेर्पा, उपाध्यक्षमा महासंघकी पूर्व अध्यक्ष शान्ति चड्डा लगायतका छन्। क्षेत्रीय संगठन भने पनि पदाधिकारी सबै नेपालकै छन्। महासंघको अध्यक्षमा शोभा ज्ञवाली छिन्।

महिला उद्यमीहरू भएको संस्थालाई पाखा लगाएर महिला विकास मञ्चले अग्रसरता लिएको भन्दै कतिपय महिला उद्यमीहरूले विरोध गरेका हुन् । शिलन्यास अघि नै विवाद देखिएपछि कुरा गर्न खोज्दा नगरप्रमुख खरेलले भने आज केही नभन्ने भन्दै पन्छिए ।

पार्कमा पर्यावरणीय पर्यटन, उत्पादन क्षेत्र र सूचना तथा प्रविधि गरी तीन विभागमा विभाजन गर्न खोजिएको छ । पर्यावरणीय पर्यटन क्षेत्रमा विभिन्न जातीय संस्कृति र शिल्पको प्रत्यक्ष सीप प्रदर्शन गरिनेछ । स्थानीय खाना अर्थात परम्परागत खाना र स्थानीय मदिरालगायत प्रदर्शनी हुने बताइएको छ ।


More

View All

News

Health

Sports