गुरु पद्मसंभवको जन्म भारतको ओड्ढियान (उडियाना) राज्यमा भएको मानिन्छ, जुन अहिलेको पाकिस्तान/स्वात उपत्यका क्षेत्रमा परम्परागत जीवनीअनुसार उहाँ कमल (पद्म) बाट प्रकट हुनुभएकोले “पद्मसंभव” अर्थात् “कमलबाट उत्पन्न” नाम पाउनुभयो।

गुरु पद्मसंभवलाई तिब्बतमा “दोस्रो बुद्ध” (ཨོ་རྒྱན་པདྨ་འབྱུང་གནས་ – ओर्ग्येन पद्मजुङ्ने) “गुरु रिन्पोछे” (अर्थात् अमूल्य गुरु) भनेर अत्यन्त श्रद्धा, सम्मान गरिन्छ। जन्मदेखि नै अद्भुत क्षमता भएकोले उहाँलाई महासिद्ध (महान योगी) मानिन्छ। उहाँले भारतका विभिन्न पवित्र स्थलमा तपस्या गर्नुभयो, अनेक गुरुसँग अध्ययन गर्नुभयो र महायोग, अन्नुत्तरयोग, मन्त्रयाना लगायतका गहिरा तान्त्रिक साधनाहरूमा पारंगत हुनुभयो ।
८औँ शताब्दीमा तिब्बतका राजा त्रिसोंग देउत्सेन ले बौद्ध धर्मलाई स्थायी रूपमा स्थापना गर्न गुरु पद्मसंभवलाई तिब्बत बोलाउनुभयो ।
त्यतिबेला तिब्बतमा बौद्ध धर्म फैलिन कठिन भइरहेको थियो, किनकि धेरै स्थानीय आत्मा, राक्षस, बोन परम्पराका देवता र पुराना विश्वासहरूले अवरोध गरिरहेका थिए। आफ्नो अलौकिक तान्त्रिक शक्तिद्वारा शक्तिशाली शक्तिशाली आत्मा, भूत, प्रेत, राक्षस र देवी-देवता हरूलाई आफ्नो आध्यात्मिक शक्तिबाट वशमा पारेर धर्ममार्गमा लगाईयो अर्थात तिनीहरूलाई धर्मका रक्षक (धर्मपाल) बनाइदिनुभयो।
गुरु पद्मसंभवले तिब्बतमा विशेषता बौद्ध तन्त्र साधनाको देशना गर्नुका साथै पहिलो बौद्ध विहार– सम्ये मठ (Samye Monastery) निर्माण गरी प्राण प्रतिष्ठा (रब्ने) पनि उहाँबाट नै भएको थियो । उहाँले “वज्रयाना बौद्ध धर्म” को गहिरा तान्त्रिक शिक्षाहरू तिब्बतमा स्थापना गर्नुभयो । उहाँका शिक्षाहरू पछि निङमापा सम्प्रदाय (Nyingma School) को आधार बने। उहाँले भविष्यको लागि गुप्त शिक्षाहरू तेर्मा (गुप्त खजाना ग्रन्थ) को रूपमा सुरक्षित राख्नुभयो, जुन समय समयमा तेर्तोनहरू (तेर्मा खोज्ने आचार्य) ले उजागर गर्छन्।
उहाँलाई प्रायः आठ अवतार (Guru Tsenyé) का रूपमा चित्रण गरिन्छ, जसले उहाँको विभिन्न आध्यात्मिक कार्यलाई देखाउँछन्। गुरु रिन्पोछेले विभिन्न समय, स्थान र परिस्थितिअनुसार विभिन्न रूप (अवतार) धारण गर्नुभयो। यी आठ अवतारहरूले उहाँको सम्पूर्ण कार्य, गुण, र शिक्षालाई प्रतीक गर्छन्। उहाँका प्रमुख उपदेशहरूमा करुणा, प्रज्ञा, तान्त्रिक साधना, मनको शुद्धता र बोधिसत्त्वमार्ग प्रमुख छन्। उहाँले जीवनको अन्त्यमा “इन्द्रधनुषी देह (Rainbow Body)” को रूपमा प्रस्थान गर्नुभयो भन्ने विश्वास छ।
उहाँका शिक्षाहरू तिब्बत मात्र होइन, नेपाल, भुटान, सिक्किम, दार्जिलिङ, अरुणाचल र सम्पूर्ण हिमालय क्षेत्रमा गहिरो रूपमा फैलिएका छन्।
यहाँ क्लिक गरेर पुरा भिडियो पनि हेर्नुहोस ।
यो भिडियो पनि हेर्नुहोस ।