काठमाडौं । पुष १ गते
पछिल्लो समय रुस र चीन दुवैको अमेरिकासँग टक्कर बढिरहँदा उनीहरु एकआपसमा नजिक हुँदै गएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भर्चुअल बैठक भएको छ। अमेरिकासँग दुवै मुलुकको तनाव बढिरहेका बेला सी र पुटिनबीच संवाद भएको हो।

बैठकमा पुटिनले रुस र चीनको मित्रता दुई राज्यबीचको सहकार्यको उत्तम उदाहरण भएको बताए।पुटिनले ‘दुई मुलुकबीच सहकार्यको नयाँ मोडेल विकास भएको जिकिर गरेका छन् ।चीनको राष्ट्रिय हित रक्षाका प्रयासहरुलाई जहिल्यै सघाएको र दुई मुलुकबीच तिक्तता बढाउने प्रयासको कडा विरोध गरेको भन्दै सीले पुटिनको प्रशंसा गरे।
सीले ‘बहुपक्षीयतावाद’ र ‘नियम’का नाममा हैकमवादी काम र शीतयुद्धकालीन मनस्थितिलाई खारेज गर्न कोसिस गरिनुपर्ने पनि बताए।फेब्रुअरीमा बेइजिङमा हुने हिउँदे ओलम्पिक उद्घाटन समारोहमा आफू सहभागी हुने भन्दै पुटिनले त्यसबेला सीसँग वार्ता गर्ने पनि बताए।