काठमाडौं । पुष ३ गते
आज अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका क्षेत्रमा सरकारले गरिरहेका काम र प्रयासबारे जानकारी दिँदै शुभकामना दिएका छन्। भकामना सन्देशमा मन्त्री श्रेष्ठले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशील काममा परिचालन गर्ने राज्यको नीति रहेको उल्लेख गरेका छन्। श्रम आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई आन्तरिकीकरण गर्दै लगिने नीति पनि सरकारको रहेको उनले बताएका छन्।

यस क्रममा उनले वैदेशिक रोजगारीलाई प्रभावकारी र सुरक्षित बनाउन सरकारले गरेका तथा गरिरहेका काम तथा प्रयासबारे केही जानकारी पनि गराएका छन्। विश्वव्यापीकरणले गर्दा आप्रवासन वर्तमान समाजको स्वाभाविक र अभिन्न अंग बन्न पुगेको उल्लेख गर्दै श्रममन्त्री श्रेष्ठले व्यवस्थित आप्रवासनको माध्यमबाट मुलुकले विकास र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसंघले सन् १९९० आजैका दिन अर्थात् डिसेम्बर १८ मा आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि १९९० पारित गरी सन् २००३ जुलाई १ बाट कार्यान्वयनमा ल्याएको र संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बर ४ मा १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउने निर्णय गरेको हो।