नेपाल प्रवासी तामाङ समाज कतारले मिर्गौला पीडित पत्रकार प्रेम स्याङ्तानका लागि कतारमा संकलन भएको ने.रु. ५९ हजार १५० रुपैयाँ आर्थिक सहयोग आइतबार हस्तान्तरण गरेको छ ।

सन् २००५ मा कतार स्थित दोहामा आप्रवासी नामले स्थापना भएको तामाङ समाज कतारका पूर्वउपाध्यक्ष एवम् पहिलो आजिवन सदस्य तथा तामाङ समाज कतारको नेपालस्थित आधिकारिक संस्था तामाङ समाज नेपालका सल्लाहकार कुमार मोक्तान, तामाङ समाज नेपालका अध्यक्ष सञ्जय तामाङ, उपाध्यक्ष कमल योञ्जन, तामाङ पत्रकार संघका निवर्तमान अध्यक्ष विष्णु तामाङलगायतको उपस्थितमा नेपाल पत्रकार महासंघको आवास गृह तिलगंगामा पुगेर बिरामी स्याङ्तानलाई सहयोग हस्तान्तरण गरेको छ । कतारको दोहाबाट प्रकाशित राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकमा आबद्ध स्याङ्तान कतारमा रहेर लामो समय पत्रकारिता गर्नु भएको थियो भने तामाङ समाज कतारको प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेको थियो ।

दुवै मिर्गौला फेल भएपछि स्याङ्तान अहिले गौशालामा रहेको राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा नियमित सातामा दुईपटक डायलाइसिस गराइरहेका छन् । उनी अहिले मिर्गौला प्रत्यारोपणको तयारीगरीरहेका छन् ।
पत्रकार महासंघलगायत विभिन्न संघसंस्था र व्यक्तिहरूको अगुवाइमा स्याङ्तानको उपचारका लागि सहयोग जुटाउने कार्य भइरहेको छ । सहयोग गर्न चाहनेले बिरामी स्याङ्तानको नाम बैंक खाता अथवा भेटेर पनि सहयोग गर्न सक्ने जनाइएको छ । एनआईसी एसिया बैंक लि।. थापाथली शाखामा PREM SHYANGTAN नामको खाता नम्बर 5469427480524001 मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।
