काठमाडौं । करेसाबारीमा सजिलै उम्रने तथा बिना मलजल पनि सजिलै मौलाउने पुदिनाको सेवन मानव स्वास्थ्यका लागि निकै उपयोगि छ ।औषधीय गुण भरीएको पुदिनाको पातमा विभिन्न रोग निवारण गर्ने क्षमता हुन्छ । पुदिनामा प्रचुर मात्रामा भिटामिन सी हुने भएकाले यसले जस्तै थकित मानिसलाई पनि फ्रेस बनाउने गर्दछ । त्यस्तै पुदीनाबाट दन्तमंजन, टूथपेस्ट, च्युइङगम, माउथ फ्रेसनर, मिठाई आदि बनाइन्छ । यसबाहेक आयुर्वेदमा पुदिनाको प्रयोग अन्य रोगको उपचारमा पनि गरिन्छ ।
पुदिना र यसका फाईदाहरु
पुदिनाको सुकेको पातको धुलो महसंग मिसाएर दिनमा दुई तीन पटक खानाले गर्भाशयलाई सक्रिय पार्ने तथा बिग्रेको मासिक धर्म समेत यसले नियमित बनाउने गर्छ ।
नरिवलको तेलसंग पुदिना पिसेर मिश्रण बनाई छाती, नाक र घाँटीमा मालिस गरे श्वासप्रश्वासको समस्या हटेर जानेछ । त्यस्तै दमका बिरामीले पुदिनाको पात तातो पानीमा हालेर बाफ लिदा यो अत्यन्तै लाभदायिक हुन्छ ।
हात, खुट्टा र जोर्नीको दुखाईमा बदामको तेलसंग पुदिनाको केही थोपा मिसाएर मालिस गरे दुखाईबाट आराम मिल्छ । पुदिनाको ताजा रस दिनको २ पल्ट छालामा २० मिनेट सम्म लगाई छोड्ने र चिसो पानीले धुनाले छालाको संक्रमण, दाग तथा डण्डीफोर आएमा हटेर जानेछ ।
गर्मीमा हुने मौसमी एलर्जीबाट बच्न पुदिनाको सेवन तथा यसको लेप लगाउनु उपयोगि हुन्छ ।६। पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट मुक्ति मिल्छ ।
पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ । पुदिनाको ताजा पातलाई तातापानिमा उमालेर खाएमा रुघाखोकी निको हुन्छ ।
पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो निको हुन्छ । शरीरमा निको नहुने घाउ छ भने सफा पुदिनाको पात पिसेर लेप लगाउँदा छिटो निको हुन्छ ।
साना नानीलाई झाडापखाला लागेको छ भने दूधमा पुदिनाको पात उमालेर २ चम्चाका दरले दैनिक २र३ पटक ख्वाएमा झाडापखाला निको हुन्छ ।पुदिनाको पात पिसेर अचार खाएमा यसले पेटको समस्या निको पार्छ ।
मुर्छित व्यक्तिलाई पुदीना पिसेर सुघाएमा मुर्छित अवस्थाबाट ब्युत्याउछ ।प्रसवको समयमा हुने पीडा कम गर्न पुदिनाको रस पिएमा प्रसव पीडा कम गर्छ ।
पुदिना र चिनिलाई तातोपानिमा उमालेर समय समयमा पिएमा निर्बलता कम हुन्छ । पुदिना, प्याजको रस र कागतीको रस बराबर मात्रामा मिसाएर पिएमा हैजामा उपयोगि हुन्छ ।
दुइ चम्चा पुदिनाको रस वीरेनुन मिसाएर मनतातो पानीसँग खाएमा पेट फुलेको निको हुन्छ । तुलसी, कालो मरिचसंग पुदिना मिसाएर खाएमा ग्याष्ट्रिक निको हुन्छ ।
नियमित पुदिनाको पात चपाएर खाएमा मुख गन्हाउन तथा दाँत दुख्ने समस्या निको हुन्छ । पुदिनाको पत्तालाई कागतीको रसमा मिसाएर खाएमा बान्ता हुँदैन ।
प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हालेमा पिनास कम हुन्छ । सलादमा दिनहुँ पुदिना चपाएर खाएमा दाँत सड्ने तथा गिँजा सुन्निने निको हुन्छ ।
पुदिनाको रस र मह मिलाएर खाएमा न्यूमोनियाका बिरामीलाई लाभ मिल्छ । पुदिनाको रस मनतातो पानिसंग पिएमा बाडुल्की लाग्ने वा हिक्क हिक्क हुने समस्या हट्दछ ।
नोटः तर बहुउपयोगी गुण भएको पुदिनाको बढी मात्रामा सेवन गरेमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ साथै मृगौलामा समेत असर गरी पत्थरीको समस्या निम्त्याउछ ।