काठमाडौं । असार २५ गते
केही दिन देखि काठमाण्डौ उपत्यकामा हैजाका बिरामीको संख्या तिव्र रुपमा बढ्दै गएको छ । शुक्रबार थप चार जनामा हैजा देखिएको छ । योसहित हालसम्म काठमाण्डौ उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो पटक काठमाण्डौको कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.चुमनलाल दासले पछिल्ला दिनमा दैनिक रूपमा हैजाका बिरामी पुष्टि हुँदै गएको र थप सावधानी अपनाउनुपर्ने देखिएको बताएका छन् । यसअघि हैजा पुष्टि भएका व्यक्तिलाई १० दिनसम्म अस्पताल भर्ना गरी उपचारपछि डिस्चार्ज गरिएको थियो ।