आज देशै भरि सोनाम ल्होछार मनाईदै

ल्होछार शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होछार मनाउँदछन् । यसरी तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।
www.hyonjanherbal.com
आज माघ शुक्ल प्रतिपदा भएकाले यस संवत् अनुरूप भने सोनाम ल्होछार हो । ल्होछार मनाउने समुदायमा ‘ल्हो’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गोरु, बाघ, खरायो, डुक, सर्प, घोडा, बाख्रा/भेडा, बाँदर, भाले, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट सुरु हुने यी वर्षहरू जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । वर्ष २०२४ चाहिँ डुक को वर्ष हो । विशेष गरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरूले समेत शुभकामना सन्देश दिने चलन छ ।
www.hyonjanherbal.com
सोनाम ल्होछार पर्व तामाङ जातीहरू पुगेका नेपाल सहितका अन्य मुलुकहरू सिङ्घापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइँदै आएको छ । सोनाम ल्होछारका अवसरमा घर बस्तीहरू सफा गरी बुद्धका चित्रहरू अङ्कित ध्वजापताकाहरू टाँगेर बुद्धको पूजा अर्चना गरिन्छ । विभिन्न मिठा परिकारहरू तैयार पारिने यस विशेष उत्सवमा विभिन्न मिठाईहरू बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन रहेको छ । विभिन्न कार्यक्रम लगायत मेलाहरू आयोजना गरिँदै अनि शुभकामनाहरू आदान प्रदान गर्दै तामाङ समुदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौँ पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् ।