×

Vajra NTV

उर्ग्येन दोर्जे लामाको अन्त्येष्टिमा देखिए असाधारण र दुर्लभ शुभ चिन्ह लक्षणहरू काठमाडौं ।


हेटौडाको बसामाडीमा अवस्थित सेर्तुङ गुम्बाका प्रमुख लामा तथा श्रद्धेय धर्म गुरू उर्ग्येन दोर्जे लामा (रिपी लाल लामा सिङ्तान तामाङ) को निधन भएको छ । सेर्तुङ गुम्बा बौद्ध धर्म, साधना र करुणाको दीर्घ परम्पराको प्रतीकका रूपमा स्थापित एक पवित्र स्थल हो। उहाँ दिवङ्गत हुनु सिङ्गो बौद्ध धर्म परिवारका लागि अपूरणीय क्षति हो।

उहाँको अन्त्येष्टि संस्कारको क्रममा देखिएका केही असाधारण र दुर्लभ शुभ चिन्ह लक्षणहरूले उक्त क्षणलाई अझै अर्थपूर्ण र स्मरणीय बनायो। जब बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रको संस्थापक अध्यक्ष, संरक्षक तथा सल्लाहकार साथै टशी छिरिङमा ( दिर्घायूषी देवी)को निर्माणकाय (टुल्कु) श्रद्धेय धर्म गुरु जेचुन साङ्ग्ये खाण्डो रिन्पोछे दिवङ्गत गुरूको गृहघरमा प्रवेश गर्नुभयो, त्यही क्षणदेखि घरको सिधामाथि आकाशमा विशेष प्रकारका उज्याला र शान्त शुभ संकेतहरू देखिन थाले। अन्त्येष्टिका लागि गृहघरबाट च्यानतर्फ प्रस्थान गर्ने बेला, गृहघरको माथिबाट सेर्तुङ गुम्बा हुँदै च्यानसम्म सेतो धजाले बनाइएको मार्ग जस्तो दृश्य आकाशमा स्पष्ट देखिनु उपस्थित सबैका लागि अत्यन्तै आश्चर्यजनक र भावुक क्षण बन्यो। धेरै श्रद्धालुहरूले यसलाई गुरूको पवित्र चित्त उच्च लोकतर्फ प्रस्थान गरिरहेको शुभ संकेतका रूपमा अनुभव गरे। च्यानमा पुगेपछि आकाशमा सातै रंगको इन्द्रेणी देखा पर्यो। सामान्य मौसमसँग मेल नखाने यस दृश्यसँगै अन्य उज्याला शुभ चिन्हहरू पनि प्रकट भए, जसले अन्त्येष्टि स्थललाई शान्त, पवित्र र आध्यात्मिक ऊर्जा भरिएको अनुभूति दिलायो। अझ विशेष कुरा के थियो भने, हेलीबाट बौद्ध, स्वयम्भू र नमो बुद्ध क्षेत्रमा परिक्रमा सम्पन्न गरी फर्किसकेपछि पनि, दाह संस्कार गरिएको स्थानको माथि ती शुभ चिन्हहरू निरन्तर देखिइरहे।
पुरा भिडियो हेर्नुहोस ।।

शव दाह संस्कार पूर्ण रूपमा सम्पन्न नहुन्जेलसम्म ती चिन्हहरू कहिले मधुरो, कहिले अत्यन्तै स्पष्ट रूपमा आकाशमा प्रकट भइरहे। यी सम्पूर्ण दृश्यहरू कुनै कल्पना वा जनश्रुति मात्र नभई, त्यहाँ उपस्थित हजारौँ श्रद्धालुहरूले प्रत्यक्ष रूपमा देखेका अनुभवहरू हुन्। यसले दिवङ्गत गुरूको जीवन, साधना र धर्मप्रतिको अटुट निष्ठालाई उजागर गर्दछ। यी घटनाहरूले हामी सबैलाई एक गहिरो तर सरल शिक्षा दिन्छन् । धर्ममा सच्चा श्रद्धा, सत्य मार्गप्रतिको अडान र करुणामय जीवन बिताउने व्यक्ति विद्वान् वा प्रसिद्ध हुनैपर्छ भन्ने हुँदैन। साँचो साधना र सत्कर्म नै सबैभन्दा ठूलो पूँजी हो। श्रद्धेय उर्ग्येन दोर्जे लामाको स्मृतिमा देखिएका यी शुभ चिन्हहरू उहाँको जीवन मार्गको मौन साक्षी हुन्। यस्ता दिव्य अनुभूतिहरूले हामी सबैलाई धर्ममा दृढ रहन, सत्य मार्ग रोज्न र करुणालाई जीवनको आधार बनाउन प्रेरणा प्रदान गरून्।

श्रद्धेय गुरूले आफ्नो सम्पूर्ण जीवन धर्म, साधना, संयम र सेवामा समर्पित गर्नुभयो। उहाँ सरल जीवनशैली, नम्र स्वभाव र सत्य मार्गप्रतिको दृढ आस्थाका कारण सबैका लागि आदरणीय गुरू हुनुहुन्थ्यो। उहाँले शब्दभन्दा बढी आचरणबाट धर्म सिकाउनुभयो, जुन आज पनि उहाँका शिष्य र श्रद्धालुहरूका लागि प्रेरणाको स्रोत बनेको छ। उहाँका सुपुत्रहरू श्रद्धेय खेन रिन्पोछे कर्म ग्यल्पो तामाङ, लोपोन लामा दोर्जे टशी तामाङ तथा पेमा रिङ्तान ज्यूको श्रद्धापूर्ण निमन्त्रणाअनुसार, दिवङ्गत गुरूज्यूको अन्त्येष्टि संस्कार परम पूजनीय धर्म गुरू जेचुन साङ्ग्ये खाण्डो रिन्पोछे ज्यूको प्रमुखतामा विधिपूर्वक सम्पन्न भयो। उक्त अवसरमा खेन्पो, लोपोन, लोसुम्पा लामा गुरूज्यूहरू, दर्जनौँ भिक्षु लामा गुरूज्यूहरू तथा हजारौँ उपासक उपासिकाहरूको गरिमामय उपस्थिति रहेको थियो।


More

View All

News

Health

Sports